उज्यालो हुन बाँकि नै छ।

चिसा र डरलाग्दा रातहरू काट्दै आएको पनि धेरै समय भइसक्यो। अचेल भयानक भयानक सपनाहरूले लखेटेर ब्युँझाउँन थालेकाछन् मलाई।खै! के सपना देखेँ, म आँफैलाई थाहा हुन्न। कहिले खाईतिर चिप्लेर झर्छु। कहिले काला कुकुरहरुले झम्टिन आएका देख्छु।व्युँझिदा मुटु पीडाले असह्य दुखेको हुन्छ र शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ। म असाध्यै डराएकी पनि हुन्छु।बेला बेला चलेका बम र गोलीका विस्फोट आवाजहरू भने आफ्नै छानामाथि नै हो कि झैँ महसुस हुन्छ र दुबै कानलाई हत्केलाले बेस्सरी छोप्ने गर्छु ताकि ती विस्फोटहरू सुन्न नपरोस्। रातको सन्नाटालाई चिर्दै कतै टाढाबाट आएका कुकुरहरूका रोदनले भने डरको सीमालाई झन् भन्दा झन् गहिरो बनाइ दिन्छ।

अनि सास घाँटीमा अड्किए झैँ निसासिन थाल्छु। रातको अँध्यारो परिभेषभित्र उज्यालोको एक टुक्रा खोज्द‌ै झ्यालको नजिक पुग्छु र झ्यालको एक पाटो बिस्तारै उघारिदिन्छु। बाहिरको एक मुठ्ठी चिसो हावा हतपत मुटुभित्र फ्याँक्छु।अनि बल्ल अलिक आराम मिल्छ मनलाई।अझै कतिसम्म सहनु पर्ने होला पीडादायिक यी दिनहरु। जुनदिन देखि देशको बागडोर सत्ताधारी सामन्ति सैनिक सरकारको हातमा पर्यो त्यो दिन देखि यहाँका जनाताका जनजीवन कष्टप्रद बन्दै गयो।

आज सुन्सान छन् हाम्रो गाउँघर। मान्छेहरू आँफु बसीरहेको थलो छोडेर अन्तै पलायन हुँदैगए। निब दरिला धनीहरु धन र जनको सुरक्षा निम्ति ठुला ठुला सहर तिर बसाइँ सरे। धेरै पैसा खर्च गरेर छोराछोरी विदेश पढ्न पठाए। गरिब, रोजिरोटी खोज्नेहरू बेरोजगार सहर छोडेर काम खोज्दै विदेश तिर भौतारिए। परिवार छिन्नभिन्न भए। गाउँमा बाँकिरह्यौँ त मात्र हामी जस्ता middle class family। बाटो हराएको यात्री जस्तो लाग्न थाल्यो जिन्दगी पनि।हिजोको रमझम,व्यवसायको प्रमुख थलो मानिने हाम्रो सहर आज सुनसान मान्छे नभएको चिहान जस्तो भएको छ।

यहाँ कसैको मुहारमा सुखीको रङ्ग देखिँदैन। सबै सदास उदास ….। फिका मुस्कान।अझै कति सम्म चल्ने हो गृहयुद्धको आवादी ।कसैले परिमाण लाउन सक्दैनन् ।तर युद्धको परिणाम भने भोगिरहेको छ यो देशले ।गाउँ, सहरहरूमा युद्ध साथै लुट,चोरी,डकैदी र हत्या जस्ता अमानवीय कार्यहरुले गर्दा मान्छेहरू मानसिक तनाव खेप्न नसकेर आफ्नो थलो छोड्न बाध्य भएका हुन्। कति निर्दोशहरूले सित्तैमा जान गुमाउनु परिरहेको छ। रगतका छिँटाहरुले धेरै इतिहास लेखिसकेका छन् यहाँ। आफ्नै घर,आफ्नै घरका गल्लीहरुसम्म असुरक्षित महसुस हुन्छ ।कानुन भन्ने शब्द सैनिकका जुत्तामुनिको धुलो जति पनि अर्थ रहेन। अभिभावक बिनाको घर जस्तो लाग्छ देश पनि अचेल।

न पैसाको मोल रह्यो,न शिक्षाको कुनै महत्व नै। युवाहरुको भविष्य भन्नु विदेशमा अर्काको जुठो भाँडा माझेर पेट पाल्नु बाहेक अर्को उपाय केही छैन । यहाँ बाँच्नु भनेको केवल सास फेर्नुलाई मात्र भनेको हो कि…?? प्रशन उठ्न थालेको छ मनमा। रातको गर्भभित्र विलाउँदै गएको उज्यालोको पछि दौडिँदै कहाँ सम्म पुग्छ होला यो मन? अचानक एउटा लाटोकोसेरोको आवाजले जीउ सिरिङ्ग हुन्छ। अनि म झ्याल बन्द गर्छु । जुनेली रात नभए पनि ताराका समुह भने आकाश भरि चम्कि रहेका थिए। चन्द्रमाको आकार एक सुन्दर युवतीको आँखीभौँ जस्तै सुन्दर र आकर्षित देखिन्थ्यो। आकाश झिलमिल थियो।

तर देशको भविष्य औँसीको रात जस्तै निष्पट ।म रातको पर्दा उघालेर एकछिन त्यो आकाश,सितारा र जूनको मनोहर दृश्य पनि हेर्न डराउँ छु। किन कि कतै बाहिर बाटामा सत्ताधारीहरु पो हिँडिरहेका छन् कि!! यो बिचार आउने बित्तिकै मुटु थरथरी काप्न थाल्छ।घडीका पदचापहरू टिक टिक गर्दै बजिरहेका छन्।म घडी तिर आँखा तेर्साएर हेर्छु। । बल्ल रातको 1:15 हुँदै रहेछ। उफ्…उज्यालो हुन अझै धेरै समय बाँकी नै छ ।।

Similar Posts