वरिष्ठ साहित्यकार गीता उपाध्याय पद्मश्री सम्मानले सम्मानित

असमकी वरिष्ठ नारी हस्ताक्षर, निबन्धकार, उपन्यासकार, अनुवादक तेजपुर असम निवासी गीता उपाध्याय यसपटक भारतको चौथो सर्वोच्च असामरिक सम्मान ‘पद्मश्री’ सम्मानले सम्मानित भएकी छन्। साहित्य र शिक्षाको क्षेत्रमा उनको अतुलनिय योगदानको लागि उनलाई यो सम्मानले सम्मानित गरिएको हो। यसअघि सन् 2020 मा सोही सम्मानले असमका वरिष्ठ आख्यानकार, अवकाशप्राप्त अध्यापक लीलबहादुर क्षत्री सम्मानित भएका थिए। उत्तर-पूर्वाञ्चलबाट पद्मश्री जस्तो सर्वोच्च सम्मानले सम्मनित हुने पहिलो गोर्खा सन्तान लीलबहादुर क्षत्री हुन् भने गीता उपाध्याय भारतभरिकै पहिलो गोर्खा नारी हुन्।

श्रीमतीगीता उपाध्यायको जन्म सन् 1939 को फेब्रुअरी 14 तारिख वर्तमान असमको विश्वनाथ जिल्लाको गाङमौथान गाउँमा भएको हो। उनका पिता टङ्कनाथ उपाध्याय एक कथाकार, नाटककार, अनुवादक थिए। टङ्कनाथ उपाध्यायले तिसकै दशकमा सेक्सपियरका नाटकहरू नेपालीमा अनुवाद गरेर मञ्चन गराएका थिए भने चालिसको दशकमा असमको नेपाली कथाको उषा कालमै उनको कथा ‘पुडके हवलदार’ प्रकाशित भएको थियो। धेरैले यही कथा नै पूर्वोत्तर भारतको पहिलो नेपाली कथा हो भनेर दाबी गर्दछन्। गीता उपाध्यायका हजुरबा छविलाल उपाध्याय स्वतन्त्रता सङ्ग्रामी तथा असममा भारतीय जातीय कङ्ग्रेसका प्रतिष्ठापक थिए। यस्तो एउटा पारिवारिक शिक्षा र संस्कारभित्र जन्मिएकी-हुर्कीएकी गीता उपाध्यायले बाल्यकालदेखि नै देशसेवाको पाठ पढेकी हुन् र शिक्षाको महत्व बुझ्ने मौका पाएकी हुन्। उनी आफै भन्छिन्,”साहित्य सृष्टिको प्रेरणा मेरो घरबाटै पाएँ। उहाँले(पिताजी) सेक्सपियरका नाटक अनुवाद गर्नुभएको थियो। हजुरबा स्वतन्त्रता सङ्ग्रामी हुनाले हामीले पनि त्यो सङ्ग्राममा अंशग्रहण गर्ने मौका पाएका थियौँ। मेरा बाबा तथा हजुरबा दुवैजना समाज, जाति तथा भाषाका लागि मरिमेट्ने हुनुहुन्थ्यो। त्यसैको प्रभाव मेरो जीवनमा पनि पर्न गयो। यसरी नै मैले मेरो उपन्यास कृति ‘जन्मभूमि मेरो स्वदेश’ रचना गरेँ।” ( इन्द्रेनी, दोस्रो वर्ष, पहिलो अङ्क, अन्तर्वार्ता प्रस्तोता- नवप्रभा अधिकारी)

गीता उपाध्याय पेसामा एक कलेजकी अध्यापिका थिइनँ। उनले शिवसागर कलेजमा राजनीति विषयको अध्यापन गरेर सन् 1999 मा अवकाश लिइन्। वास्तवमा भन्न जानु हो भने उनको शिवसागर कलेजबाटै साहित्यिक यात्राको थालनी भएको हो। उक्त कलेजमा अध्यापन गर्दा उनले असमिया साहित्यका दिग्गज साहित्यकार लीला गर्गै, बीरेन बरकटकी, बासन्ती लस्कर, योगेन सेतियाको सान्निध्यमा आउने मौका पाइनँ र उनीभित्रको साहित्यिक प्रतिभाले फस्टाउने मौका पायो। उनको पहिलो कृति एन. फ्रेङको डाइरीको नेपाली अनुवाद सन् 1972 मा प्रकाशित भयो भने यहीँ कृतिको असमिया संस्करण बासन्ती लस्करसँग सहलेखनमा सन् 1975 मा प्रकाशित हुन्छ। यसरी गीता उपाध्यायले मौलिक सिर्जना र अनुवाद कार्यद्वारा असमिया र नेपाली साहित्यका बिच सेतु निर्माणको काम गरेकी छन्। गीता उपाध्यायले असमिया साहित्यमा पुर्‍याएको योगदानको स्वीकृतिस्वरूप सन् 2009 मा गोलाघाट साहित्य सभाले ‘फुलचन्द खान्डेलवाल संहति पुरस्कार’ले उनलाई सम्मानित गर्‍यो।
असममा साहित्य अकादमीका अनुवाद र मूल दुइटै पुरस्कार प्राप्त गर्ने उनै पहिलो साहित्यकार हुन्। उनीपछि छविलाल उपाध्याय र के.बी. नेपाली पनि यी दुई पुरस्कारले सम्मानित हुने असमेली सपूत हुन्। गीता उपाध्यायले ज्योतिप्रसाद अगरवालाको नाटक ‘कारेङर लिगिरी’ लाई ‘दरबारकी सुसारे’ शीर्षकमा नेपालीमा अनुवाद गरेर सन् 2011 मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गर्न सफल भइनँ भने सन् 2016 मा उनका हजुरबा छविलाल उपाध्यायको जीवन आधारित उपन्यास ‘जन्मभूमि मेरो स्वदेश’ को लागि उनलाई अकादेमी मूल पुरस्कारले सम्मानित गरियो। गीता उपाध्यायको नेपाली र असमिया साहित्यमा योगदानको सूची यसप्रकार छ –
मौलिक कृति –

नेपाली भाषामा :
१) आमा म फष्ट भए (१९९८)
२) महापुरुष शङ्‌करदेव जीवन र कर्म (जीवनी, २००३)
३) मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म (नियात्रा, २००३)
४) एन फ्राड्‌को बाल्यकाल (बालकथा, २००३)
५) कथाञ्जली (कथा कृति, २००८)
६) जन्मभूमि मेरो स्वदेश (उपन्यास, २०१३)
७) जीवनलाई फर्केर हेर्दा (आत्मलेख, २०१९)

असमियामा भाषामा :
१) एन फ्रान्कर गल्प (बालकथा, १९९६)
२) मा मइ फ्राष्ट हलो (बाल उपन्यास, १९९७)
३) भ्रमण सोवरण (नियात्रा, २००८)
४) सुवासित बताह (कथाकृति, २००५)
५) एकाँजली गल्प सम्भार (संयुक्त, २००९)
६) सिलार दरे उरे मन (बाल उपन्यास, २०१३)

अनूदित कृति :
१) एन फ्रेड्ङ्कको डायरी (अङ्ग्रेजीबाट नेपालीमा, १९७२ )
२) अभियात्री (असमियाबाट नेपालीमा, २००८)
३) दरबारकी सुसारे (असमियाबाट नेपालीमा, २००८ )
४) बलुवा सन्तान (अङ्ग्रेजीबाट नेपालीमा, २००८)
५) एन फ्राङ्कर डायरी (असमियामा, सह लेखिका वासन्ती लस्कर, १९७५
६) भानुभक्तर रामायण (नेपालीबाट असमिया, १९८७)
७) मुनामदन (नेपालीबाट असमिया, २०००)
८) क’ला सुरुज (नेपालीबाट असमिया, १९९८)
९) नेपाल देशर लोक साधु (नेपालीबाट असमिया, २००१)
१९) आनन्दी गोपाल (उत्सभाषा माराठी, २००८)

४. सम्पादित कृतिहरू :
१) चिन्ता चयनिका असमिया प्रबन्ध सङ्कलन (१९९२)
२) असमिया नारीका निर्वाचित कविता (२००२)
यसका अतिरिक्त पनि उनको नेपाली र असमिया भाषाका अनेक फुटकर रचनाहरू यत्र-तत्र असङ्कलित रूपमा छरपस्ट छन्।

गीता उपाध्यायको साहित्य साधना र शिक्षा दानका अतिरिक्त सामाजिक सङ्घ-संस्थामा पनि सक्रिय सहभागिता रहेको देखिन्छ। उनले नेपाली साहित्य परिषद्, असम( हाल असम नेपाली साहित्य सभा) को अध्यक्ष,अखिल असम लेखिका संस्थाकी सभानेत्री, भारतीय गोर्खा परिसङ्घ, असम राज्य समिति को प्रतिष्ठापक अध्यक्ष आदि पद अलङ्कृत गरेकि हुन्। उनको सत्यसाइ बाल विकास केन्द्र,शिवसागर, सेवा साधना संस्था, तेजपुर, हरिहर धाम उन्नयन समिति, तेजपुर आदिमा आबद्ध रही सामाजिक काममा आत्यनियोग गरेको पाइन्छ।

साभार : श्री रुद्र बराल

Similar Posts